आर्मीनीया-अजरबैजान द्वन्द्व: पैसाको लोभमा बिनातालिम युद्ध गर्न लगिएका एक सिरियाली युवकले जे भोगे -BBC NEWS

  • ‏मोहम्मद इब्राहिम
  • बीबीसी अरेबिक

९ अक्टोबर २०२०

सिरियालीको रेखाचित्र

“हामी लडाइँ गर्न जाँदैछौँ भन्ने मलाई थाहा थिएन,” अब्दुल्ला (नाम परिवर्तन) ले एउटा सन्देश पठाउने एपमार्फत् मलाई भने।

हाम्रो कुराकानी अनियमित र अस्वाभाविक छ। एकजना पत्रकारसँग आफू सम्पर्कमा रहेको आफूभन्दा माथिकाले थाहा पाए के गर्लान् भनेर उनी त्रसित छन्।

“उनीहरूले २,००० डलर दिएर अजरबैजानको सीमास्थित सैन्य शिविरको सुरक्षाका लागि जान हामीलाई भनेका थिए,” उनले भने।

“त्यतिबेला त्यहाँ युद्ध भएको थिएन र हामीले कुनै सैन्य तालिम पनि पाएनौँ।”

त्यसको एक सातामा यी सिरियाली युवक लडाइँका लागि त्यहाँ पुगे जुन ठाउँ उनले बुझेका थिएनन् र त्यो देशमा उनी पहिला कहिल्यै गएका पनि थिएनन्।

बिनातालिम युद्धको मैदानमा

सैन्य कारबाहीका क्रममा अजरबैजानका सेना

उत्तरी सिरियाका धेरै बासिन्दाजस्तै अब्दुल्ला पनि गरिब र युद्धका पीडित हुन्।

हालै गरिएको एक सर्वेक्षणमा भाग लिएका मध्ये ८१ प्रतिशत मानिसले आफूहरू महिनाको ५० डलरभन्दा कम तलब पाउने गरेको बताएका थिए।

अब्दुल्लाले अजरबैजानको सीमास्थित “सैन्य अड्डा” मा गए एक सातामा त्यसको ४० गुना तलब दिने प्रस्ताव पाए। उनले त्यसलाई सजिलै स्वीकार गरे।

“त्यतिबेला त्यहाँ युद्ध थिएन। हामीलाई उत्तरी सिरियाबाट आवर केल्स गाउँमा पठाइयो। त्यहाँ हामीलाई कसैले नचिनोस् भनेर विपक्षी सिरियन न्याश्नल आर्मीले हाम्रा सबै सामान, फोन, पैसा र लुगा जफत गरे।”

तर अब्दुल्लाले जसतसो आफ्नो फोन हात पारे।

“त्यसपछि हामीलाई दक्षिण टर्कीमा रहेको एन्टेप विमानस्थलमा पठाइयो, जहाँबाट एक घण्टा ४० मिनेटमा हामी इस्तानबुल विमानस्थल पुग्यौँ। र, त्यहाँबाट अजेरी वायुसेवामार्फत् हामीलाई अजरबैजान पठाइयो। अनि हामी सीमास्थित सेनाको चौकीमा पुग्यौँ। हामीलाई कुनै सैन्य तालिम दिइएन।”

अब्दुल्ला रहेको नागोर्नो-क्याराबाख क्षेत्र दशकौँ लामो द्वन्द्वको केन्द्रबिन्दुमा छ।

पहाडी भूभाग रहेको उक्त क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा भनेर मान्यता दिइएको छ तर त्यहाँ आर्मीनीयाका जातीय पृथक्तावादी समूहले कब्जा गरेका छन्।

दुवै देशले उक्त क्षेत्रमा सन् १९८० को दशकको अन्त्यदेखि सन् १९९० को सुरुसम्म रक्तपातपूर्ण युद्ध गरेका थिए।

उक्त युद्धका क्रममा दशौँ हजार मानिसको ज्यान गएको थियो भने करिब १० लाख मानिस विस्थापित भएका थिए।

उनीहरूले युद्धविरामको घोषणा गरे पनि कहिल्यै शान्ति सम्झौतामा सहमति जनाएनन्। बेलाबेला तनाव देखा परिरहन्थ्य।

विस्फोटन भएको सुन्दा उनी यसरी हाँस्थिन्

‘शत्रुहरू कहाँ छन् थाहा छैन’

सेप्टेम्बर २७ आइतवार। अब्दुल्ला झन्डै एक सातादेखि शिविरमा थिए। अन्य सिरियालीजस्तै उनी पनि त्यहाँ लड्नका लागि नभई पैसाका लागि गएका थिए।

तर आश्चर्यजनक रूफमा उनलाई त्यो ठाउँ छिट्टै छोड्न भनियो।

“सैन्य टोलीलाई बोक्ने गाडीमा उनीहरूले हामीलाई हाले, हामीले अजरबैजानका मानिसले लगाउने लुगा लगाएका थियौँ, हामी प्रत्येकसँग कालास्निकोभ थियो।”

“कार रोकियो र अग्रमोर्चामा आफूलाई पाएर हामी चकित भयौँ। हामीलाई शत्रुअरू कहाँ थिए भन्ने पनि थाहा थिएन। त्यसपछि बम आक्रमण सुरु भयो, मानिसहरू डरले रोइरहेका थिए र घर जान चाहिरहेका थिए। हामी बसेकै छेउमा गोलाबारी भयो र त्यसमा चारजना सिरियाली मरे र तीन जना घाइते भए।”

त्यसको केही दिनमा आफूले १० सिरियालीको शव देखेको अब्दुल्लाले बताए।

उत्तरी सिरियामा रहेका स्थानीय स्रोतहरूले बीबीसीलाई बताएअनुसार अजरबैजानमा ज्यान गुमाएका सिरियालीहरूको अवस्थाबारे सिरियामा रहेका उनीहरूका परिवारलाई हतपत भनिँदैनथ्यो।

अब्दुल्लाले अन्य ७० जना घाइते भएका र उनीहरूले आवश्यकताअनुसार स्वास्थ्य उपचार नपाएको बताए।

ट्रकमा बसेका अर्मेनियाका सैन्य दस्ता

विदेशी लडाकु

लडाइँका लागि अजरबैजानको सीमामा ४,००० सिरियाली नागरिकलाई पठाएको आरोप आर्मीनीयाले लगाएको छ।

तर टर्कीले त्यो दाबी अस्वीकार गर्दै आएको छ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले आर्मीनीयाको द्वन्द्वमा टर्कीको केवल नैतिक समर्थनमात्रै रहेको बताएका छन्।

टर्की र अजरबैजानबीच राजनीतिक, जातिय र सांस्कृतिक रूपमा निकट सम्बन्ध छ।

तर टर्कीमार्फत् सिरियालीलाई आफ्नो देशबाहेक लड्नका लागि पठाइएको आरोप पहिलो पटक लागेको होइन।

गत मे महिनामा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले उत्तरी सिरियाका लडाकुहरूलाई टर्की हुँदै लिबियाको पहिलो गृहयुद्धमा लड्नका लागि पठाइएको जनाएको थियो।

ट्रिपोलीमा रहेका सिरियाली लडाकुको भिडिओले आक्रोश निम्त्याएको थियो र द्वन्द्व भड्काएको आरोप टर्कीमाथि लागेको थियो।

सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका निर्देशक रमी अब्दुल रहमानले लडाकुलाई अजरबैजानमा पठाउने कि नपठाउने भनेर सिरियाका सशस्त्र विपक्षीहरू विभाजित रहेको बताए।

लडाइका बेला सुरक्षित रहनका लागि काठमुनि बसेका मानिस

अन्तिम सन्देश

केही क्षणपछि मैले अब्दुल्लाबाट केही पनि खबर पाइनँ।

मलाई लाग्यो सायद उनको फोन खोसियो वा मसँग संवाद गरेको पत्ता लगाएर उनले हप्की खाए।

तर त्यो ठाउँमा इन्टरनेट कनेक्शन कमजोर भएकोले सम्पर्क गर्न कठिन भएको हुनसक्ने सम्भावना धेरै छ।

उनले पठाएका अन्तिम सन्देशहरूमध्ये एउटामा जारी लडाइँ सबै सकियोस् भन्ने आशा व्यक्त गरिएको थियो।

“युद्ध सुरु भएपछि हामीले यहाँका हाकिमहरूलाई हामी सिरियास्थित घर फर्किन चाहन्छौँ भनेका थियौँ, तर उनीहरूले हुँदैन भने। उनीहरूले हामी यदि अग्रमोर्चामा लडाइँ गर्न नगए लामो समय जेलमा बस्नुपर्ने भन्दै धम्क्याए।”

स्रोत: बिबिसी नेपाली न्युज !

Leave a comment

Design a site like this with WordPress.com
Get started